काठमाडौँ- प
छिल्लो समय नेपालीहरूका लागि आकर्षक गन्तव्यका रूपमा रहेको देश हो दक्षिण कोरिया। त्यहाँ पाउने उच्च मूल्यको पारिश्रमिक र सीपका लागि नेपालीहरू कोरिया जान लालायित हुन्छन्।
सरकारी तवरबाटै भाषा परीक्षा पास गरेपछि छनोट गरेर पठाइने हुँदा यो सुरक्षित गन्तव्यका रूपमा पनि रहेको छ।
यसो भन्दै गर्दा तपाईँले सबैकुरा नबुझी कोरिया जान हतार भने गर्नुहुँदैन। आज हामीले तपाईँका लागि कोरिया जानुअघि बुझ्नुपर्ने केही कुराहरू समेटेर यो सामग्री तयार पारेका छौँ।
गणतन्त्र कोरियामा रोजगारीका लागि जाने योजना बनाइसकेपछि सबैभन्दा पहिले तपाईँले कोरियन भाषा परीक्षा इ पी एस पास गर्नुपर्ने हुन्छ भाषा परीक्षामा उत्तीर्ण भए पछि स्वास्थ्य परीक्षण, आदि आवश्यकता पूरा गरेर रोष्टरमा नाम समावेश भए पनि शत प्रतिशत रोजगारी ग्यारेन्टी भने हुँदैन ।
गणतन्त्र कोरियाको रोजगार तथा श्रम मन्त्रालयले रोजगारदाताको रोष्टरमा दर्ता भएका कामदारमध्ये कम्प्युटरको माध्यमबाट छनोट गरी सिफारिस गर्छ । यो एक किसिमको भाग्य चिट्ठा जस्तै प्रक्रिया हुन्छ। सिफारिस गर्दा कामदारको नाम,जन्म मिति, आदि जस्ता विवरण भने जानकारी गराइँदैन ।
कोरियन रोजगारदाताहरूले रोजगार तथा श्रम मन्त्रालयले सिफारिस गरेका मध्येबाट आफूलाई उपयुक्त लागेका कामदार छनोट गर्दछन्। रोजगारदाताले कामदारको अनुभव, योग्यता, शैक्षिक योग्यता, शारीरिक क्षमता, लिङ्ग, आदि हेरेर छनोट गर्ने गर्दछन्।
रोजगारदाताको छनोटमा पर्न नसकेमा रोजगार पाउन सकिँदैन । त्यस कारण भाषा परीक्षा उत्तीर्ण भएर रोष्टरमा रहेता पनि श्रम करारनामा लेबर कनट्र्याक्ट नआउँदासम्म अध्ययन वा पेसा व्यवसाय निरन्तर जारी राख्नु पर्छ ।
महिला कामदारको वास्तविक रोजगारी दर कार्यस्थलको कार्य वातावरण,कार्य प्रकृति र विशेषता अनि रोजगार दाताको छनोट दर आदिका कारणले पुरुषहरू भन्दा तुलनात्मक रूपमा कम रहेको छ ।
परीक्षार्थीहरूको राहदानीमा उल्लेखित व्यक्तिगत विवरण (घर,नाम, अङ्ग्रेजी जन्म मिति) फाराम भर्दा परेको भन्दा फरक परेको अवस्थामा भाषा परीक्षा उत्तीर्ण भए पनि रोष्टरमा नाम समावेश हुने छैन । त्यस्तै गणतन्त्र कोरियाको रोजगारी गणतन्त्र कोरियाको रोजगार तथा श्रम मन्त्रालयले तोकेको कार्यालयमार्फत मात्र सम्भव हुन्छ ।
रोजगार आवेदन दर्ता लगायत रोजगारी प्रक्रिया वैदेशिक रोजगार विभाग (इ पी एस कोरिया शाखा) र एच आर डी कोरियाले मात्र गर्दछन् । त्यस्तै रोजगारदातालाई कामदार सिफारिस गर्ने काम गणतन्त्र कोरियाको रोजगार तथा श्रम मन्त्रालयले मात्र गर्न सक्छ।
कुनै अन्य व्यक्ति वा संस्थाले कोरियामा रोजगारी दिने भनी रकम माग गरे त्यो गैर कानुनी हो भन्ने तपाईँले बुझ्नुपर्छ। गणतन्त्र कोरियाको रोजगार तथा श्रम मन्त्रालयले कामदारहरूबाट भाषा परीक्षा शुल्क बाहेक अन्य कुनै पनि रकम लिँदैन ।
रोजगार चाहनेको रोष्टरमा दर्ता भएको १ वर्ष सम्म पनि रोजगारी नभएमा वैदेशिक रोजगार विभाग (इ.पी.एस. कोरिया शाखा) को सूचना बमोजिम रि रजिस्ट्रेसन गर्नुपर्छ ।
कोरियन भाषा परीक्षाका सम्पूर्ण प्रश्न एच आर डी कोरियाबाट प्रकाशित “कोरियन भाषाको स्तरीय पुस्तक” भित्रबाट आउने छन्। कोरियन भाषा स्तरीय पुस्तक इ पी एस को वेबसाइटबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।